बिहेपछि दुलहीले दुलाहा समलिङ्गी भएको थाहा पाएपछि

कैलाली। गत बैशाखमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिका ५ की २० वर्षीया राधा (नाम परिवर्तन र लालझाडी गाउँपालिका का दीपक (नाम परिवर्तन) को चिनजान भयो। यससँगै उनीहरूबीचको उठबस बाक्लै हुन थाल्यो। बाक्लिएको भेटघाट र कुराकानीले आखिरीमा दुवैबीच मायाको टुसा पलायाे। उनीहरु एकअर्काबीच बाँच्नै नसक्ने अवस्थासम्म पुगे। दुवैको सल्लाहमा उनीहरूले मंसिर २६ गते लगनगाँठो कसेपनि केही दिनमा नै उनीहरूको सम्बन्धमा खटपट आउन थाल्यो। जव जीवनभर साथ दिने बाचा गरेर अँगालोमा बाँधिएकी राधाले श्रीमान् समलिङ्गी भएको थाहा पाइन्। यससँगै न उनीहरूको बिहे पछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी क्षेत्रमा डेरा गरी बस्ने सपना पूरा भयो न अन्य चाहना नै। 

बिेहेपछि मात्र दुलहीले दुलाहा समलिङ्गी भएको थाहा पाएको बुझिएकाे छ। ‘बिहे भएपछि मात्र दुलाहा पनि समलिङ्गी भएको कुरा युवतीले थाहा पाइछन्। न्यायका लागि भन्दै हामी कहाँ आउनुभएको थियो,’ कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भनेका छन्। 

‘युवती पक्षले झुक्याएर विवाह गरेको आरोप लगाएका छन्। तर स्पष्ट कानूनी व्यवस्था नहुँदा मुद्दा अगाडि बढाउन सकिएन।’ प्रहरीले अहिले दुवैजनालाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाएको छ। विगतमा झुक्याएर बिहे गर्नेलाई कारवाही गर्ने व्यवस्था भएपनि गतवर्षको भदौदेखि लागू भएको मुलुकी संहितामा भने सो व्यवस्था नहुँदा समस्या भएको प्रहरीले जनाएको छ।