तिम्रो घरमा मेरी छोरी भान्छे चलेन….

सिर्जना बर्देवा, काठमाडाै‌।

परिवर्तनका लागि धेरैले ज्यानको बाजी लगाए। तिनकै बलबुतामा मुलुकले गणतन्त्र पायो। संविधानमा न्याय र समानताका दफा कोरिए, छुवाछुत र भेदभावविरुद्ध नयाँ कानून बन्यो। धेरैले समानता र न्यायको आशा गरे। तर व्यवहारमा लागू हुन सकेन। नारा र कागजमै सीमित हुन पुगेका कानून सम्झेर बाँच्न विवश छन् समाजका कैयौँ अन्तरजातीय जोडी जो विवाह गरेकै कारण जात नमिलेको भन्दै कोही घरबाट धकेलिएका छन् कोही समाजबाट। ती सबैका कथा र व्यथा फरक फरक छन्।

त्यसो त आज पनि समानताका आवाजहरू घन्किरहेका छन्। तर पनि व्यवहारमा त्यो पालना हुन नसक्दा समाजभित्रै अपहेलितहरुका आँसु बगिरहेकै छन् अन्तरजातीय जोडी बनेकै कारण कति त अनाहकमा मारिए। कतिले परिवार र समाजबाट तिरस्कार सहेर गुमनाम हुन परेको छ। जन्मेको भूगोल छाड्न परेको छ।

समाजमा जताततै देखिने र भेटिने यस्तै खाले पीडा र उत्पीडनलाई समेटेर सिर्जित गीत यतिखेर चर्चामा रहेको छ। गीतलाई ठूला ठूला राजनीतिज्ञदेखि कलाकाहरुले समेत सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्।

कला चल्यो, गला चल्यो

मान्छे चलेन

तिम्रो घरमा मेरी छोरी भान्छे चलेन

किन सम्धी ज्यू मान्छे चलेन?

लोक तथा दोहोरी गायक बद्री पंगेनी र रचना रिमालको लोकलयमा आधारित यसै गीतले नेपाली समाजमा विद्यमान अन्तरजातीय विवाह गरेकै कारण परिवारबाट सहनु परेको हिंसालाई देखाउन खोजेको छ। गीतले वर्षौँदेखि नेपालमा जरा गाडेर बसेको जातीय विभेदका कारण आजपनि हाम्रा कैयौँ छोरीबुहारीहरु अपमानपूर्वक जीवन बाँच्न विवश रहेको देखाएको छ।

समाजमा व्याप्त सामाजिक कुरीति र विभेदको अन्त्य नभएको भन्दै छुवाछुतको खुलेर विरोध गरिएको गीतलाई नारायण ज्ञवालीले लेखेका हुन्। अपलोड भएको ४ दिनमा २ लाख ८९ हजार ५ सय ८६ दर्शकले हेरेका छन् भने त्यसमा अनेकन प्रतिकृया आएका छन्।

अन्य सम्बन्धित समाचार:  नेपालमा काेराेनाकाे नयाँ प्रजाति भेटियो: स्वास्थ्य मन्त्रालय

गीतमा गैरदलित युवकले तल्लो जातकी भनिने युवतीसँग प्रेम गर्छ। उसले आफ्ना बुबाआमासँग विवाहको प्रस्ताव राख्छ। तर, बुबाआमाले पानी नचल्ने भनिएकासँग विवाह गर्न अस्वीकार गर्छन्। उसले विवाह नभए आत्महत्या गर्ने धम्कीपछि बाबुआमाले बिहे गर्ने स्वीकृति दिन्छन्। त्यसपछि युवक परदेशतिर लाग्छ। यता, घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे।

समाजमा देखे भएका यस्तै घटनामा केन्दित रहेको गीतमा जातीय छुवाछुतबिरुद्ध माईती पक्षले प्रहरीमा उजुरी दिन्छन् तव सासु ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर छ महिनासम्म थुनेपछि उनीहरुले बल्ल कानून थाहा पाएको भन्दै छोरा बुहारीलाई स्वीकारेको देखाईएपनि हाम्रो समाज गीतमा देखाईएको भन्दा अझ फरक छ।

दूरादराजका के कूरा सि‌ँहदरवारबाट मुश्किलले मोटर बाटोमा आधा एक घण्टामा पुगिने गाँउघरमै अझैपनि जातीय छुवाछुतका विभेद धारा पाटी पौवा वा सार्वजनिक स्थलहरुमा देख्न सकिन्छ। चिया पसलहरुमा अझैपनि दलित भनिएकाहरुले चिया खाएपछि (कसैले खन्याईदिएको पानीले) पखाल्नु पर्ने अवस्थाको अन्त्य हुन सकेको छैन।

समाजमा तल्लो जात भनिएकाहरुलाई घरभित्र प्रवेश निषेधको चलन हट्न सकेको छैन भने धारा कुवाहरुमा आफैले पानी लिने अधिकारबाट पर धकेलिएका छन् उनीहरु। गाई, गोरु, गोबर र कुकुर पुज्ने समाज मान्छेलाई छुन डराँउछ, अनि तल्लो जातको भनिने बुहारीले पकाएको खान हजारौँपल्ट सोँच्छ।

समाजमा गीतमा देखाईएभन्दा धेरै असमान अवस्था रहेको देखिन्छ। शिक्षित र सभ्य समाज नै पनि मञ्च, चौर र चौतारामा समानता र न्यायको ठूला ठूला कुरा गर्छन् तर व्यवहारमा लागू गर्न हच्किने गरेका कैयौँ उदाहरण देख्न सकिन्छ।

गैर-दलितकै प्रसंग अझै खोतल्ने हो भने उनीहरुका लागि प्रेम र विवाह एउटा ठूलो अपराध हो। जो समाज, घरपरिवार र आफ्न्तबाटै तिरस्कार सहेर बस्न बाध्य छन्। यति मात्रै हैन, अन्तरजातीय प्रेमकै कारण गत २०७७ साल जेठ १० गते रुकुम–जाजरकोटमा नवराज विक मारिए। घटनामा अन्य ६ जना युवा समेत मारिनु परेको थियो। यस्ता घटना समाजमा अनेकन् रहेका छन्। जातीय आधारमा सदियौँदेखि दलितमाथि समाजको ज्यादती कायम नै छ।

जातभात छुवाछुत छैन भने पनि

जतिसुकै ठुलाठुला कानुन बने पनि

सिलाएको लुगा चल्यो, मान्छे चलेन

सिलाएको लुगा चल्यो, मान्छे चलेन।

समाजमा अझैपनि तिनको श्रमको आधारमा मानिसहरुलाई गरिने व्यवहारको अन्त्य हुन सकेको छैन। सञ्चारमाध्यमका साथै विभिन्न एनजीओ र आईएनजीओले जातभात र छुवाछूत विरुद्ध चलाएका अभियानहरु दलितका मुद्दा भजाएर खानेहरुको लागि मात्र हो भन्ने आरोप पनि लाग्ने गरेको छ। जातीय छुवाछुत कानुनी अपराध हो भनिए पनि मान्छे मान्छे बीच फरक देख्ने बर्गीय आँखाहरुका कारण समाजमा जातीय भेदभावमा खासै परिवर्तन आउन नसेकेको दलीत अधिकारकर्मीहरुले विभिन्न फ़ोरम र मञ्चमा बताँउदै आएका छन्। संविधानले सम्पूर्ण नागरिकलाई स्वतन्त्र भएर बाँच्न पाउने अधिकार दिएको छ। दलित भएकै कारण मान्छेहरू कथित उपल्लो जातबाट कुटिएका छन्। शिक्षित व्यक्तिहरूबाटै हेपिएका छन्। पानी पँधेरोबाट हेपिएका दलीत भनिएकाहरुको श्रम चल्ने, सीप चल्ने तर पानी नचल्ने अवस्था अन्त्य हुने कहिले?

हाम्रा चेलीहरुलाई कहिले न्याय हुन्छ

जातीय विभेद देख्दा न्याय आफैं रुन्छ

दाइजो देको औंठी चल्यो,

मान्छे चलेन

तेरो माइती यस्तो उस्तो किन भन्नु हुन्छ

मान्छेमाथि मान्छे कति कठोर बन्नु हुन्छ

अब एउटा क्रान्ति गर्न लागिपर्नुपर्छ

मान्छे मान्छेबीचको विभेद अन्त्य गर्नुपर्छ…….

 

 

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटन बिरुद्धका रिटहरुमाथि सुनुवाइ सुरु