पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाइने

एजेन्सी। पाकिस्तानले बलात्कारीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ।

नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो। नयाँ कानुनमा दोषी प्रमाणित भए नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।

मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन्। पाकिस्तानका प्रधानमन्त्रीले उक्त कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ। त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ।

कानुन अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ।

आफ्ना दुई बच्चासहित लाहौरतर्फ आइरहेकी एक महिलाको राजमार्गमा सामुहिक बलात्कार भएपछि पाकिस्तानभर त्यसको विरोध भएको थियो। त्यसपछि पाकिस्तानभर बलात्कारका घटनामा कडा सजायको प्रावधानसहित कानुनको माग गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा