रुकुम पूर्वका सहायक वन अधिकृतको गाडीमै मृत्यु

रुकुम पूर्व। डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको उपचारका लागि दाङ लैजाँदै गर्दा गाडीमै मृत्यु भएको छ।

उच्च रक्तचापका बिरामी ५२ वर्षीय साहलाई रुकुमबाट दाङको तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

जनकपुर घर भएका साह मंसिर २१ गते सरुवा भइ रुकुम पूर्व हाजिर भएका थिए। रुकुम पुगेलगत्रै साहलाई ज्वरो आएको थियो। उनी तातो पानी खाएर बसिरहेका थिए।

ज्वरो ह्वात्तै बढेपछि साहको स्थानीय मेडिकलमा उपचार गरिएको थियो। निको नभएपछि उनी थप उपचारका लागि साह दाङतर्फ जाँदै थिए।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले साहलाई मृत घोषणा गरेका थिए। उनको सोमबार साँझ मृत्यु भए पनि मंगलबार मात्र उनी सहायक वन अधिकृत भएको खुलेको अस्पतालले जनाएको छ। बुधवार साहको शव परीक्षण गरिने छ।

अन्य सम्बन्धित समाचार:  पौडी खेल्ने क्रममा डुबेर अस्ट्रेलियामा फेरि एक नेपालीको मृत्यु