कोदोको खिर बनाएका सन्तोष बीबीसी मास्टर सेफको उत्कृष्ट चारमा

काठमाडौँ। कोदोको खिर बनाएका नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’को उत्कृष्ट चारमा पुग्न सफल भएका छन्।

‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी उत्कृष्ट चारमा पुगेका हुन्। हरेक चरणमा नेपाली खाना चखाएर निर्णायकको मन जित्दै अगाडि बढेका सन्तोषले यसपटक पनि कोदोको खिर बनाएर खुवाएका थिए।

उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि बनाएर खुवाएका थिए। नेपाली खाना पकाएरै साह शीर्ष चारसम्म पुगेका हुन्।

नेपाली खाना पस्कने ५ वर्ष अघिदेखिको आफ्नो सपना भएको उनले बताए। उनले हरेक चरणमा नेपाली खाना नै पस्किदै आएका छन्।

यसअघि साहले भेडाको मासु, सिस्नु, आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचारलगायत नेपाली खाना पस्किएका थिए। मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल आउँदो बिहीबार बेलुका प्रसारण हुनेछ।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए

त्यसअघि बुधबार बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिने छन्। सिरहाको कर्जन्हा घर भएका साह दुई दशकदेखि यो पेसामा आवद्ध छन्।