काठमाडाै।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। तर, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन्।
ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन्। बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर प्रचण्ड बैठकमा आएका हुन्।
बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ। तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश आउने संभावना छ।
गएको मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याए पछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो।
गएको माघ २६ को स्थायी कमिटीले गरेको १५ बुँदे निर्णय पालना नभएको भन्दै ओली प्रति पार्टीभित्र असन्तुष्टि बढेको छ।
यो विषयमा ओली र प्रचण्डले एकअर्कालाई आरोप लगाएर लेखेको पत्रहरुबारे सचिवालयले निकास दिन नसकेपछि स्थायी कमिटी बैठकमा छलफल चलिरहेको छ।