जर्मनीमा पुनः लकडाउन, फ्रान्समा रात्रिकालीन कर्फ्यु

एजेन्सी। कोरोना संक्रमण बढ्दै गएपछि जर्मनीमा कडा लकडाउन जारी गरिएको छ। जर्मनीमा आगामी १० जनवरीसम्म स्कुल तथा अत्यावश्यक बाहेकका अन्य सबै व्यापार बन्द गरिएको छ।

कडा लकडाउन जारी गरे पनि क्रिसमसमा भने केही छुट दिइने जर्मन पदाधिकारीहरुले जनाएका छन्। क्रिसमसको बेला एउटा परिवारले आफ्नो नजिकका चार जनालाई घरमा बोलाउन छुट दिइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

युरोपमा कोरोना संक्रमण बढेसँगै विभिन्न मुलुकले क्रिसमसअघि कडा नियम लागू गरेका छन्। फ्रान्समा रातको समय कफ्र्यु लगाएर पुन लकडाउन जारी गरिएको छ। महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन फ्रान्स सरकारले आग्रहसमेत गरेको छ। लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहरु बन्द भएका छन् भने अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गरिएको छ।

अन्य सम्बन्धित समाचार:  दिल्लीमा कफ्र्यु घोषणा

फ्रान्समा आगामी जनवरी २४ सम्म लकडाउन गरिएको छ। यसैगरी बेलायत, स्पेन, इटली र नेदरल्याण्ड्सले पनि कडा सुरक्षा मापदण्डको आदेश जारी गरेका छन्।