एजेन्सी। बलिउड अभिनेता सैफ अली खानविरुद्ध मुद्दा दर्ता भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘आदिपुरुष’ काे विषयलाई लिएर दिइएको अन्तर्वार्ताका कारण उनी विवादमा तानिएका हुन्।
उनीविरुद्ध उत्तर प्रदेशको जौनपुर जिल्लास्थित एडिसनल चीफ जुडिसल मजिस्ट्रेट अदालतमा एक वकिलले मुद्दा दायर गरेका हुन्। चलचित्र निर्माताविरुद्ध पनि मुद्दा परेको छ। अदालतले मुद्दाको आगामी सुनुवाइ डिसेम्बर २३ मा तय गरेको छ।
धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाउँदै मुद्दा दर्ता भएको हो। भगवान रामको कथामा आधारित फिल्ममा सैफको रोल रावणसँग मिल्दो जुल्दो रहेको बताइएको छ।
सैफले एक अन्तर्वार्तामा लक्ष्मणले रावणको बहिनीको नाक काट्दा रावणले सीताको अपहरण गरेको र यो ठिक भएको उल्लेख गरेका थिए। यद्यपि आफ्नो अभिव्यक्तिले विवाद निम्तिएपछि सैफले माफी मागेका छन्। उनले तत्काल आफ्नो बयान फिर्ता लिइसकेका छन्।
सैफको अन्तर्वार्ताले ‘आस्था’ र ‘सनातन धर्मको विश्वास’लाई नकारात्मक चित्रण गरेको र धार्मिक आस्थामा प्रहार गरेको’ आरोप लगाइएको छ।