ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन झरना प्रचारप्रसार गर्न स्थनीय युवा लागिपरेका छन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, पाथीभरा मन्दिर, तिम्बुङपोखरी, फुङ्फुङ झरनाजस्ता प्राकृतिक जैविक विविधताले भरिपूर्ण भएको जिल्ला भए पनि यहाँका कतिपय प्राकृतिक तथा धार्मिक महत्वका स्थलहरु ओझेलमा पर्दै आएका छन्।
तीमध्येकाे एक मेरिङदेन गाउँपालिका–१ थिङ्लापुमा रहेको मेरिङदेन झरना पनि प्रचारप्रसारको अभावमा रहेकाे भन्दै युवाहरु यसकाे प्रचारप्रसारमा लागिपरेका हुन्। पर्यटकीय महत्व बोकेको मेरिङ्देन झरना करीब २५० मिटर लामो रहेको छ। यो १२ महिना निरन्तर झरिरहने गर्दछ।
मेरिङदेन झरनाबाट करिब १३० मिटरको अर्को झरना र सँगसँगै अन्य करीब ८० मिटरभन्दा उचाइका चारवटा झरनाको प्रत्यक्ष दृश्यावलोकन सकिने स्थानीयवासी डम्बर ओख्रबोले बताए। एकपटक छवटा झरना झरेको सुन्दर मनमोहक दृश्यावलोकन गर्न सकिने स्थान भएकाले स्थानीय युवा पर्यटकीयस्थल बनाउनका लागि प्रचारप्रसार लागिपरेका हुन्।