तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक तत्काल बोलाउन माग गरेको छ। बुधबार दिउँसो सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो।

संसद बैठक तत्काल बोलाउन सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। बैठकले बिहीबारका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ। सो बैठकमा संसद बैठक बोलाउनका लागि सरकारलाई दवाव दिन थप रणनीति बनाउने बताइएको छ।

बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा भएको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ। देशैभर सरकारविरूद्ध प्रदर्शनमा जुटेकालाई कांग्रेसले धन्यवादसमेत दिएको छ।

अन्य सम्बन्धित समाचार:  साधारण सदस्य पनि नरहने गरी केपी शर्मा ओलीलाई नेकपाबाट निस्कासित