काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्‍न नदिने

काठमाडौँ। कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन्।

काठमाडौँ महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका तत्काल विद्यालय खोल्न नदिने निर्णय गरेको हो।

छलफलमा सहभागी काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौँमा कोभिड नियन्त्रणमा आएको अवस्था नरहेको भन्दै हतार गर्न नहुने बताए।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जाडोको मौसम रहेकाले यस्तो बेलामा अनलाइन कक्षालाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताए।

अन्य सम्बन्धित समाचार:  अत्याधिक चिसो बढेपछि बुटवलका विद्यालय बन्द

स्वास्थ्य मन्त्रालयका महानिर्देशक महेन्द्रमान श्रेष्ठले मन्त्रालयले पुस महिनामै करीब ५० हजारको एन्टीजेन टेष्ट गर्ने तयारी गरेकाले त्यसको अवस्था हेरेर अघि बढ्न सुझाव दिए।

काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौँका ११ मध्ये ९ स्थानीय तहले विद्यालय सञ्चालन गरेको बताए। काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाल निकायसँग छलफल गरिरहेकाले समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताए। उनले तत्काल विद्यालय खुल्ने अवस्था नरहेको बताए।