काठमाडौं-दिल्ली हवाइ उडान सञ्चालन

काठमाडौं। करिब नौ महिनादेखि ठप्प रहेको नेपाल–भारत उडान पुनःसञ्चालन भएको छ। कोरोना संक्रमण त्रासको कारण गएको चैत ११ गतेदेखि बन्द रहेको काठमाडौं दिल्ली उडान नौ महिनापछि बिहीबारदेखि सुरु हुन लागेको नेपाल वायु सेवा निगमले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक महानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार बिहीबार बिहान साढे ११ बजे निगमको एयरबस ए ३२० दिल्ली प्रस्थान गर्दैछन्। दिल्लीबाट पनि बिहीबार नै एयर इन्डियाको एउटा जहाज काठमाडौँ अवतरण हुनेछ।

अब हरेक दिन काठमाडौं–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान हुने निगमले जनाएको छ। दुबै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अन्तर्गत पुनः उडान सुरु गर्न लागेका हुन्। कोरोना संक्रमणको कारण नेपाल भारले २३ मार्चदेखि काठमाडौं–दिल्ली उडान स्थगित गरेका थिए। १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले ‘एयर बबल मोडल’ अन्तर्गत दिल्ली काठमाडौं उडान खुला गर्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीसँग अर्को संविधान छ : अधिवक्ता थापा

नेपालबाट दिल्ली जाने यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्ने नियम छ। त्यस्तै दिल्लीबाट काठमाडौं आउने यात्रुले अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ। निगमको जहाज ८ जना बिजनेस क्लास र १३८ जना इकोनोमिक क्लासका यात्रु लिएर दिल्ली उडानको तयारीमा रहेको कर्णले जानकारी दिए।