जागिरकाे आश देखाएर भक्तपुरकाे एक रिसोर्टमा बालिकाहरुमाथि करणी

छात्रा

काठमाडौं। बालिकालाई जबरजस्ती करणी गरेकाे अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुले बालिकालाई जागिर लगाइदिने भन्दै रिसोर्टमा बाेलाएर करणी गर्ने गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हाे।

पक्राउ पर्नेमा रिसोर्टका सञ्चालक बझाङ थलारा गाउँपालिका वडा नम्बर-२ स्थायी घर भएका २६ वर्षीय निश्‍चल उपाध्याय, तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर-७ रानीश्‍वारा घर  भएका २० वर्षीय प्रदिप कुँवर, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका वडा नम्बर-२ डटुवा स्थायी घर भएका प्रदिप केसी र गोरखाकाे गोरखा नगरपालिका वडा नम्बर-९ लक्ष्मीबजारका अश्‍विन कुँवर रहेको प्रहरीले जानकारी दिएको छ।

मंसिर ३० गते दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-७ हेल्मेट डाँडास्थित बाटो माथिको रिसोर्टमा बालिकाहरुलाई ललाई फकाई रेष्‍टुरेन्टमा जागिर दिने प्रलोभन देखाई आफूहरुले करणी गरेपछि रिसोर्टमा आएका ग्राहकहरुसँग समेत यौनजन्य कार्यका लागि बालिकाहरुलाई जबरजस्ती पठाउने गरेको सूचनाको आधारमा अप्रेसन गरेकाे महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सामाजिक सञ्जालमा महिलालाई अश्लील भिडियो पठाएको आरोपमा पक्राउ

एक १७ वर्षीया बालिकाले आफूलाई जबरजस्ती करणी गरेको बयान दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको डीएसपी गिरीले जानकारी दिए। भक्तपुर जिल्ला अदालतबाट थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।