निलम्बित सांसद रेशम चौधरीको मुद्दाको सुनुवाइ सुरु

काठमाडौं।

कैलालीकाे टीकापुरमा ९ जनाको हत्या घटनामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको मुद्दाको सुनुवाइ सुरु भएको छ।

उच्च अदालत दिपायलमा चौधरीसहित अन्य अभियुक्तको पुनरावेदनमा सुनुवाइ हुन लागेको हो। उच्च अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले चौधरीको मुद्दाको सुनुवाइ थालेको हो। २०७५ फागुन २२ गते जिल्ला अदालतले चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो।

फैसलाभन्दा केही समयअघि चौधरीलाई सांसदको सपथ खुवाइएको थियो। तर जिल्ला अदातले जन्मकैदको फैसला सुनाएपछि उनको सांसद पद निलम्बनमा परेको थियो। उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध चौधरीसहितका निवेदकले २०७६ वैशाख २९ गते पुनरावेदन गरेका थिए।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो। यस्तै उक्त घटनामा ३ जनाले सफाइ पाएका थिए।  अन्य १२ जनालाई ३ वर्ष कैदको सजाय सुनाइएको थियो।

थरुहट–थारूवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो।