व्यङ्ग्य पत्रिका ‘शार्ली एब्दो’ आक्रमणका दाेषीलाई ३० वर्ष कैद फैसला

एजेन्सी। सन् २०१५ मा व्यङ्ग्य पत्रिका शार्ली एब्दोमा भएको आक्रमणका सहयोगी रहेको भन्दै फ्रान्सको राजधानी पेरिसको एक अदालतले १४ जनालाई दोषी प्रमाणित गरेको छ। तीमध्ये दुई जनालाई ३० वर्ष कैदको फैसला सुनाइएको छ। जनवरी २०१५ मा भएकाे आक्रमण र झडपमा एक महिला प्रहरीसमेत १७ जनाको मृत्यु भएको थियो।

बुधबार भएको सुनुवाइमा ११ अभियुक्त उपस्थित थिए। तीन जनामाथिको फैसला भने उनीहरुको उपस्थिति बिना नै भएको छ। त्यसमध्ये हयात बाओमुद्दिन भन्ने व्यक्ति सिरिया भागेको जनाइएको छ। उनी सुपरमार्केटमा आक्रमण गर्ने आमेदी काउलीबालीको मित्र भएको र आक्रमणको ठीक एक दिनअघि सिरिया गएको बताइएको छ।

अदालतले उनले आर्थिक सहयोग गरेको र आतंकवादी नेटवर्कको हिस्सा भएको ठहर गरेको छ। उनलाई ३० वर्षको कैद सजाय सुनाइएको छ।

अन्य सम्बन्धित समाचार:  बम राखिएको हल्लापछि ताजमहल बन्द

अदालतमा उपस्थित उक्त आक्रमणका प्रमुख अभियुक्त अली रजा पोलाटलाई पनि ३० वर्ष कैदको सजाय सुनाइएको छ। सबै १४ अभियुक्त फरक फरक अपराधमा दोषी पाइएका छन्। ६ जनालाई आतंकवादको आरोपबाट हटाइएको छ। अदालतले उनीहरुले त्योभन्दा कम अपराधमा मात्र सजाय गरेको छ।

७ जनवरी २०१५ मा शार्ली एब्दोको कार्यालयमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो। त्यसको एक दिनपछि एक महिला पुलिस अधिकृतलाई गोली हानी हत्या गरिएको थियो। दुई दिनपछि एक सुपरमार्केटमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो। तीमध्ये तीन जना यी आक्रमणमा संलग्नहरु भएको प्रहरीको दावी थियो।