पुसभित्र सरकारले तीन लाख जनाको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने

काठमाडाै‌।

पुसभित्र सरकारले तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन एन्टिजेन परीक्षण गर्ने भएको हो।

मन्त्रालयका कोभिड–१९ फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको जानकारी दिए। उनका अनुसार आगामी आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण सुरु गरिने छ। उनले २ सय भन्दा बढी सक्रिय संक्रमित भएका ठाउँमा उक्त परीक्षण गरिने बताए।

यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायस्तरमा संक्रमण फैलिएको अवस्था पत्ता लगाउन ‘सेरो सर्भेलेन्स’ गरेको थियो। जसमा १३.९ प्रतिशत मात्र समुदायका मानिसलाई संक्रमण देखिएको थियो। ठूलो संख्यामा गरिने एन्टिजेन परीक्षणबाट १५ मिनेटमा नै संक्रमण भए\नभएको पत्ता लाग्ने छ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा थपिए २० कोरोना संक्रमित

एन्टिजेन परीक्षणका लागि प्रयोगशालाको आवश्यकता पर्दैन। यस विधिबाट परीक्षण गर्दा स्वाबलाई परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिन्छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौँ उपत्यकामा एन्टिजेन परीक्षण गर्दा आठ प्रतिशत मानिसमा संक्रमण देखिएको जानकारी दिए।