रुकुम। रुकुम पश्चिममा रहेका सरकारी कार्यालयमध्ये एकैदिन १७ कार्यालयका ९८ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पाइएको छ। सङ्घ तथा प्रदेश मातहत कार्यालयमा बुधबार जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनको क्रममा यति धेरै कर्मचारी अनुपस्थित रहेको पाइएको हो।
प्रशासनद्वारा तीन दिने स्पष्टीकरण
नियमित र तोकिएको समयमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुखसहितका ९८ कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयले तीन दिने स्पष्टीकरण सोधेको छ। कर्मचारीलाई नियमितता र समयको पालना नगराउने, बिदा स्वीकृत नगराइ बिदामा छाड्ने तथा कर्मचारीको उपस्थिति अभिलेख व्यवस्थित नगराउने कार्यालय प्रमुखलाई समेत स्पष्टीकरण सोधिएको हो।
छड्के अनुगमनको क्रममा समयमा कार्यालयमा उपस्थित नभएको, हाजिरी रजिस्टरमा कैफियत देखिएको भन्दै के–कस्तो कारणले उपस्थित नभएको ? समयको पालना किन नगरेको ? बिदा स्वीकृत नगराई बिदामा किन बसेको ? निजामती सेवा ऐन २०४९ को दफा ४१ बमोजिमको आचरण किन पालना नगरेको लगायतका प्रश्न स्पष्टीकरणमा सोधिएको छ।