आजदेखि जोर बिजोर प्रणाली अन्त्य

काठमाडौं। काठमाडौं उपत्यकामा सवारी साधनमा लगाईएको जोर बिजोर प्रणाली शुक्रबारदेखि अन्त्य भएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यातायातका साधन संचालनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

प्रशासन, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच बिहीबार भएको छलफलपछि जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोर बिजोर प्रणाली लागु हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या भएकाले जोर बिजोर हटाइएको बताए।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले चार महिनादेखि यातायातका साधन संचालनमा जोर बिजोर प्रणाली लागू गर्दै आएको थियो। यातायात व्यवसायी र मजदुरहरुले आजदेखि सरकारी बन्देज उल्लंघन गर्ने निर्णय गरेपछि प्रशाशन दबाबमा परेको थियो।

अन्य सम्बन्धित समाचार:  ओलीले सबैसँग निहुँ खोज्दै गाली गर्दै हिँडेः वर्षमान पुन