जनकपुरमा राम र जानकीको मटकोर गरिँदै

काठमाडौं। जनकपुरधामस्थित जानकी मन्दिरमा हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौदिन शुक्रबार राम र जानकीको मटकोर गरिदैँछ।
दिउँसो जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए।

बाजागाजा सहित गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ। मटकोटर सकिएपछि शनिबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी स्वयंवर र विवाहको विधि गरिने छ।

यसअघि चौथो दिन बिहीबार तिल्कोत्सव सम्पन्न भएको छ। जानकी मन्दिरबाट फलफुल, मिठाई तथा लताकपडाको भारसहित सयौँ जानकी राममन्दिरमा पुगेर तिल्कोत्सवमा सहभागी भए। त्यहाँ राजा दशरथको भूमिकामा रहेका राममन्दिरका महन्त राम गिरी र राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्तबिच सम्बन्धी मिलन भएको थियो।

अन्य सम्बन्धित समाचार:  परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

मंसिर २९ गतेदेखि विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ।

शुक्रबार पाँचौदिन मटकोर, शनिबार छैठौं दिन राम र जानकीको विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत समापन गरिने दासले बताए।