स्वास्थ्य सामग्री खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न अख्तियारलाई निर्देशन

काठमाडौं।

संसदको लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान गरी कारबाही गर्न आग्रह गरेको हो।

समितिले यस प्रकृयामा संलग्न सम्भावित दोषी सम्बन्धित पदाधिकारीहरुलाई छानबिन गरी कारबाहीको प्रकृया अघि बढाउन अख्तियारलाई भनेको छ।

यस्तै, बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा आफ्नो संलग्नता नभएको बताएका छन्। छलफलमा सांसद्‍हरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले आफू अनियमिततमा संलग्न नभएको तर काम छिटो गर्न पहल गरेको उल्लेख गरे।

मन्त्री ढकालले अप्ठेरो स्थितिलाई मध्यनजर गरी छिटो छरितो काम गर्न पहल गरेको बताए। विशेष परिस्थितिमा मन्त्रिपरिषद्‍ले सार्वजनिक खरिद गर्न बेग्लै नीतिगत व्यवस्था गरेकाले छोटो समयमा काम गर्न पहल गरिएको उनको भनाई छ।

अन्य सम्बन्धित समाचार:  नेकपाले घोषणा गर्यो आन्दोलन: २८ गते काठमाडौंमा विशाल प्रदर्शन

स्वास्थ्य सामग्रीको अभाव नेपालमा मात्र नभएर विदेशमा पनि भएकोले तत्कालै नेपालमा ल्याउन लामो प्रक्रियालाई छोट्याउने व्यवस्था गरिएको समेत उनले उल्लेख गरे। गत वर्ष चैतमा सरकारले मेडिकल सामग्री खरिदको ठेक्का दिँदा व्यापक भ्रष्टाचार गरेको भन्दै सरकारको आलोचना भएको थियो।