अहिलेको मुख्य समस्या बाह्य नभै आन्तरिक हो: सूर्य थापा

काठमाडाै‌।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा नेता सूर्य थापाले नेकपाभित्रको एकता टुटोस् भनेर धूप बत्ती बाल्नेहरुको कमी नभएको उल्लेख गरेका छन्। एक टेलिभिजन कार्यक्रममा दिइएको अन्तर्वार्तामा नेता थापाले पार्टी एकताकै समयमा पनि एकता नहोस् भनेर हिँड्नेहरूका बाबजुद पनि एकता भएको उल्लेख गरे।

“नेकपाको एकता अरुले जोडजाड गरिदिएको नभै मूलत: केपी शर्मा ओली र पुष्पकमल दाहालको ‘बोल्ड डिसिजन’को  कारण भएको एकता हाे”, नेता थापाले उल्लेख गरे।

पार्टी अहिले केही धरमरको अवस्थामा रहेको स्विकार्दै उनले दुई अध्यक्षबीचको आन्तरिक विवादका कारण अहिलेकाे अवस्थाको सिर्जना भएको बताए। मानिसहरूले कल्पना गरेको जस्तो पार्टी फुटिहाल्यो भन्ने अवस्थामा नरहेको जनाउँदै उनले फुट र एकताको दोसाँधमा पार्टी नरहेको बताए।

नेपालमा  काँग्रेस र कम्युनिष्टको इतिहास ७० र ७२ वर्ष लामो रहे पनि दुवै पार्टीहरूको समस्या विपक्षमा रहँदा मिल्ने, संघर्ष गर्न एक हुने तर सरकारमा रहँदा तालमेल नहुने गर्दा समस्या रहेको उनले बताए। सात साल यताका घटनाक्रम हेर्दा पनि पञ्चायतको नेतृत्वमा जो जो मान्छे आए ति सबै विपी कोइरालाकै मातहतमा बसेका नेताहरू थिए भन्दै थापाले नेकपाभित्रको अहिलेको समस्यामा पनि सोही खाले अवस्था सिर्जना भएको बताए।

काङ्ग्रेसभित्रको असन्तुष्टिकै कारण राजा महेन्द्रले फौजी कू गरेको प्रसंग कोट्याउँदै थापाले १७ साल आएको उदाहरण दिए।

अहिले सरकारका विरुद्ध विपक्षी र विदेशीले भन्दा पनि पार्टीभित्र हिजो एकता गरेकै कारण समस्या भएको उनले बताए। ‘विपक्षीले समेत गर्न नसकेको आरोप-प्रत्यारोप पार्टीभित्रबाट नै भइरहेका कारण समस्या बाहिरबाट भन्दा पनि भित्र नै रहेको छ’, उनले भने।

‘पार्टी भित्र नै हिजो एकता गरेको पक्षबाट यो भइरहेको छ’, थापाले भने, ‘जनताले एकता रुचाए, कार्यकर्ताले एकता रुचाए, देशले स्थिरताको अनुभूति गर्न थाल्यो, यो कुराले धेरै मानिसहरूलाई छटपटी भएको छ। उनीहरूका छटपटी पार्टी  भित्रै  पनि विभिन्न रूपले प्रकट भएको छ।’

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो

खासगरी एकताको बेला छुट्टै संरचनाको रुपमा स्थापित गरिएको “कोर अफ लिडरसिप” भनिने हाम्रो पार्टीको सचिवालयमा विवाद, हानथाप, बदनाम गराउने प्रयास र अशिष्ट गालीगलाैज सबै समस्याहरूकाे जड सचिवालय बनेको र यसले लिडरसिपको हिसाबले परिकल्पना गरिएको जिम्मेवारी बहन गर्न नसक्ला कि भन्ने उनको भनाइ थियो। ‘विपक्षीले पनि गर्न नसकेको घेराबन्दी र प्रहार सचिवालयले गरेको हुनाले समस्या देखापरेको छ’, उनले भने।

सिंगो पार्टी विवाद, हानथाप र आरोपप्रत्यारोपमा छ भन्ने हैन भन्दै नेता थापाले समस्याको कारखाना भने सचविालय रहेको बताए। स्थायी कमिटीमा पहिलो दिन तय गरेको एजेण्डा पार्टीभित्रको आन्तरिक समस्या समाधानको लागि भएको बताउँदै उनले सचविालयले केही एजेण्डा तयार गर्न नसकेको र अहिलेको मुख्य समस्या बाह्य नभै आन्तरिक नै रहेको उल्लेख गरे।