ओली प्रवृत्तिको डटेर सामना गर्ने प्रचण्ड-नेपाल भेलाको निष्कर्ष

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुको समूहले गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ। शुक्रबार कोटेश्वरस्थित नेकपा जनवर्गीय संठनको कार्यालयमा बसेको सो समूहको प्रदेशस्तरीय भेलाले पार्टी एकतालाई जोगाउँदै एकाधिकार र सर्वसत्तावादका विरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको हो।

भेलापछि नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीलाई कसरी सुदृढ र गलत कुराको विरोधमा डटेर लड्ने भन्ने विषयमा छलफलसहित निष्कर्ष निकालेको प्रतिक्रिया दिए। त्यस्तै उनले ओलीले अध्यादेश फिर्ता नगरे पार्टीले थप कदम चाल्न बाध्य हुने निष्कर्षमा पुगेको बताए।

कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा आएको विवाद र त्यसका नीतिगत सैद्धान्तिक विषमा व्याख्या गरेका छन्। छलफलमा सहभागी नेताहरुले ओली एकाधिकार र सर्वसत्तावादतर्फ लागेको भन्दै प्रचण्डले स्थायी समितिमा पेश गरेको प्रतिवेदन नै सही भएको दावी समेत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  वडा स्तरीय प्रदर्शनमा सहभागी बन्न देउवाको अपील

भेलामा प्रदेश एकका जिल्ला अध्यक्ष, सचिव र प्रचण्ड नेपाल समुहका केन्द्रीय सदस्यहरुको सहभागीता रहेको थियो। भेलालाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि सम्बोधन गरेको नेता खतिवडाले जानकारी दिए।

नेकपामा एकपछि अर्को संकट चुलिँदै गएपछि ओली र प्रचण्ड–नेपाल समुह आ-आफ्ना गुटगत भेलालाइ तीव्रता दिइएको छ।