सप्तरी।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बगैँचामा छोपिएको अवस्थामा एक बालक आज मृत भेटिएका छन्। स्थानीय रोहित मुखियाका पाँच वर्षीय छोरा आनन्दको शव छोपिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए।
खेल्न निस्केका बालक घर नफर्किएपछि बिहीबार बेलुका ९ बजेतिर प्रहरीमा खबर गरिएको थियो। प्रहरी नायब उपरीक्षक साहका अनुसार ट्रयाक्टरले किचेर बालकको मृत्यु भएपछि चालकले शव आँपको बगैँचाको पातले छोपेर लुकाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
स १ त ७७५२ नम्बरको ट्रयाक्टरले बालकलाई किचेर हत्या गरेको र त्यसपछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै सप्तरीको राजविराज नगरपालिका वडा नं १६ बोरियामा आज आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ। स्थानीयवासी ८५ वर्षीय झलाही यादवको गोठमा सुतेको अवस्थामा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो।
गोठमा आगलागी हुँदा सोही गोठमा सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। राजविराजबाट गएको वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। सो आगलागीबाट अन्नपात, लत्ता कपडासहित करिब एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।