सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजुरी बढ्दै

इन्दु धामी, कञ्चनपुर।

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार सम्बन्धी उजुरी बढ्दै गएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरका अनुसार सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार सम्बन्धी उजुरी बढ्दै गएका हुन्। कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पहिलो आर्थिक वर्षको चौमासिकमा ४ सय ३२ उजुरी दर्ता भएका छन्। दर्ता हुन आउने अधिकांश उजुरी स्थानीय तह सम्बन्धी रहेको आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयका सूचना अधिकारी हरिचन्द्र जोशीले बताए।

“गत वर्षको तुलनामा आयोगमा पर्ने उजुरीको सङ्ख्यामा बढोत्तरी देखिएको छ, यस आर्थिक वर्षको पहिलो चौमासिक सहित हाल सम्म १ हजार २ सय ७० उजुरी आयोगको प्रदेश कार्यालयमा दर्ता भएका छन्” सूचना अधिकारी जोशीले भने, “प्रदेशभरीको उजुरीको सङ्ख्यामध्ये सबैभन्दा बढी उजुरी कैलालीे र सबैभन्दा कम बाजुरा जिल्लाको रहेका छन्।”

अन्य सम्बन्धित समाचार:  गाडीको ठक्करबाट एक जनाको मृत्यु

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बाजुराका १६, बझाङका ४२, दार्चुलाका ३५, बैतडी ३८, डडेल्धुरा २९, डोटी ६२, अछाम २७, कैलालीका ९२, कञ्चनपुर ९० र स्थान नखुलेको १ गरी हालसम्म ४ सय ३२ उजुरी दर्ता भएको उनले बताए। जोशीका अनुसार गत आर्थिक वर्षको मसान्तसम्म ९ सय १२ उजुरी दर्ता भएका थिए। तीमध्ये आयोगले ७ सय ४१ दर्ता उजुरी फर्छौट गरेको थियो।

“जनप्रतिनिधि तहमा आफू अनुकुल हुने दरबन्दी मिलान लगायत स्थानीय तहको अधिकार दुरुपयोग जस्ता कार्यहरु बढ्दै गएको अवस्थामा उजुरीको सङ्ख्या बढी नै छ”, जोशीले भने, “पछिल्लो समयको कार्यालयगत दृष्टिकोणले पनि अख्तियारले सक्रियता बढाएको छ, यो सँगै नागरिक पनि चेतनशील भएका कारण उजुरीहरू बढ्दै गएका छन्।”

अन्य सम्बन्धित समाचार:   बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

स्थानीय तहमा पनि शिक्षा तथा वन कार्यालय सम्वन्धि उजुरी पनि बढेको उनले बताए। यस अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयले गरेको २७ स्टिङ अपरेसनबाट ४० लाख ५५ हजार ६ सय ५० नगद सहित ४४ जना रंगेहात पक्राउ परेका छन्। यस्तै कार्यालयले चालु आर्थिक वर्षको हालसम्म अख्तियारको कार्यालयले दुई पटक स्टिङ अपरेसन समेत गरेको छ।