जनकपुरका लागि बुद्ध एयर चढेका यात्रुहरु पोखरा पुगेपछि……

काठमाडौँ। शुक्रबार दिउँसो जनकपुर जान ठिक्क परेका यात्रुहरु जहाड उड्नु एक घण्टा अघि नै तमतयार भएर त्रिभुवन विमानस्थलमा बसेका थिए।

उनीहरु बुद्ध एयरको जहाज चढेर जनकपुर जान हतारिँदै थिए। यत्तिक्कैमा यात्रुलाई जहाज भएको ठाउँसम्म लिन बस आइपुग्यो। यात्रु बस चढेर बुद्ध एयरको जहाज भएको ठाउँमा गए।

उनिहरुको सामान अलग्गै पहिल्यै पठाइसकेको थियो। जनकपुर जान हिँडेका सबै यात्रु बुद्ध एयरको जहाज चढे।

केही समयको हवाई यात्रापछि उनीहरु चढेको जहाज जनकपुर हैन पोखरा विमानस्थलमा अवतरण गर्यो। सबै यात्रु छक्क परे। उनीहरु मुखमुख गर्न थाले।

एक छिन जहाजभित्र बहस नै चल्यो। यसबारे पाइलट र परिचारीका अनविज्ञ थिए। बुद्ध एयरलाइन्सको लापरबाहीका कारण शुक्रबार अपराह्न जनकपुरका लागि काठमाडौँबाट उडेका यात्रुहरु पोखरा पुगेका थिए। न त कुनै मौसमको खराबी थियो। न जहाज डाइभर्ट नै गर्नुपर्ने अवस्था थियो।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

जनकपुरको जहाज चढाउनुपर्ने ठाउँमा उनीहरुलाई पोखराको जहाज जहाज चढाइएको रहेछ। यो सब त्रिभुवन विमानस्थलका बुद्ध एयरका कर्मचारीहरुको लापरबाही थियो।

जनकपुर र पोखराको एकै समय उडान थियो। कर्मचारीले झुक्किएर जनकपुरका यात्रुहरुलाई पोखराको जहाज चढाए।

अपराह्न चार बजे पोखरा विमानस्थलमा अवतरण भएको जहाजका सबै यात्रुहरु जनकपुरका लागि रहेको थाहा पाएपछि बुद्ध एयरका पाइलटले जहाज काठमाडौँ नै फर्काए।

पछि उक्त जहाज नै काठमाडौँ हुँदै जनकपुरतर्फ उडेको थियो।