काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता ठहर गरेको छ।
समितिले श्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानबिन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए।
अनियमितामा संलग्न सबैलाई कानूनी कारबाही गर्नको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समितिले गुहारेको छ। समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे सोधपुछ गरेको थियो।
सरकारले स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी कम्पनीलाई जिम्मा दिएको थियो। सामग्री खरिद महँगो भएको र अनियमितता गरेको कुरा सार्वजनिक भएपछि सरकार त्यसको बचाउमा लागेको थियो।