गर्भवती भएको हल्ला चलेपछि लमजुङमा भतिजा र भान्जाद्वारा धनमायाको हत्या

लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका २० वर्षीय सागर भुजेल र ३५ वर्षीया धनमाया भुजेल नाताले काकी भतिजा हुन्।

दुवै जनाबीच लामो समयदेखि अवैध यौन सम्बन्ध थियो। गत साता धनमाया गर्भवती भएको गाउँमा हल्ला चल्यो। गाउँभरी चर्चा व्यापक भएपछि सागर निकै डराए।

यद्दपी सागरको काकी धनमायासँग यौन सम्बन्ध भएकोबारे गाउँमा जानकारी थिएन। तर पनि काकी धनमाया आफ्नै कारणले गर्भवती भएको सागरले ठम्याए।

अनी आरोपबाट मुक्त हुन सागरे धनमायाको हत्याको मन बनाए। उनले बुधबार बिहानै धनमायाको हत्या गरे। सागरकै योजनामा धनमायाको हत्या भएको अनुसन्धानबाट खुलेको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए।

हत्यामा गाउँकै १९ वर्षीय विकास भुजेल पनि संलग्न रहेको पाइएको छ। विकास धनमायाका भान्जा नाता पर्छन्। धनमाया गर्भवती भएको हल्ला चलेपछि अवैध सम्बन्ध खुल्ने र काकीलाई आफूले जिम्मा लिनुपर्ने डरले सागर र विकास मिलेर उनको हत्या गरेको खुलेको छ।

बुधबार बिहान श्रीमान ध्रुब घरमा नभएको बेला धनमायाको हत्या भएको हो। ध्रुबले परिवार नियोजन गरेका थिए। काकाले परिवार नियोजन गरेको अवस्थामा काकी गर्भवती हुँदा आफूलाई अप्ठ्यारो पर्ने भयले सागरले आफ्ना साथी विकासको सहयोगमा धनमायाको हत्या गरेको डिएसपी थापाले बताए।

धनमाया गर्भवती रहे नरहेको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने उनले बताए। धनमायाले आफूलाई गर्भवती भएको भनेर नबताएको सागरले प्रहरीलाई बयान दिएका छन्। गाउँमा हल्ला चलेको भरमा धनमायाको हत्या गरेको उनले बताए।

पहिलो श्रीमतीसित सम्बन्धविच्छेद गरेपछि ध्रुवले धनमायासित दोस्रो विवाह गरेका हुन्। उनकी जेठी श्रीमतीबाट दुई सन्तान जन्मेका छने। उनीहरु हजुरबाआमासँग बस्छन्।

हत्या भएको दिन धनमाया घरमा एक्लै थिइन्। सागर र विकासले सुरुमा धनमायाले लगाएको सलले घाँटी कसेका थिए। त्यसपछि जाँतोले टाउकोमा प्रहार गरी हत्या गरेका थिए।

हत्यापछि धनमायाको शव बोरामा बेरेर सेफ्टी ट्यांकीमा फालेका थिए। सागरलाई पोखराबाट तथा विकासलाई घरबाट पक्राउ गरिएको हो।

दुवै जनाले गत मंसिर २९ गते राति सँगै बसेर धनमायाको हत्याको योजना बनाएको खुलेको छ।