एजेन्सी।
स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोना भाइरस सङ्क्रमित भएका छन्। ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी सङ्क्रमित भएको पुष्टि भएको हो। उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका हुन्।
सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी थिए। उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो। उनलाई सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए।
कोरोना सङ्क्रमण पुष्टि भएको ल्याबको कागजको फोटो समेत राखेर ४७ वर्षीय प्रधानमन्त्री माटोभिकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छ। “म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पूरा हुन कठिन हुने देखिएको छ।”
सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोना भाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ।
सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरु स्थगित गरेका छन्। स्थानीय सञ्चार माध्यमहरुले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरुलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन्। यही सिलसिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षा मन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफूहरु समेत सङ्क्रमित भएको जानकारी दिएका छन्।
कोरोना महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै चार हजार जना बुधबार मात्रै थपिएका हुन । स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।