अफगानिस्तान: बम विस्फोटमा १५ बालबालिकाको ज्यान गयो, २० घाइते

एजेन्सी। अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा भएको बम विस्फोटमा परेर १५ बालबालिकाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्। गिलान जिल्लामा भएको यो विस्फोटको कारण अझै स्पष्ट हुन नसकेको प्रहरी अधिकारीहरुले जनाएका छन्।

प्रहरी प्रवक्ता अहमद खानले यस आक्रमणको आरोप तालिबानमाथि लगाएका छन्। स्थानीयका अनुसार बालबालिकाहरुले फुटपाथ व्यापारीलाई एउटा सामग्रीको टुक्रा बेच्न खोज्दा त्यो विस्फोट भएको थियो। तालिबानी मिलिसियाहरुले यो विस्फोट गल्तीले भएको दावी गरेका छन्।

स्थानीय समय अनुसार दिउँसो १ बजेको समयमा गाउँको एउटा घर नजिक यो विस्फोट भएको अधिकारीहरुले जनाएका छन्। विस्फोटका बेला त्यस घरमा त्यतिबेला कुुरान वाचन भइरहेको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियट प्रेससँगको कुराकानीमा गाज्नीका प्रान्तीय गर्भनरका प्रवक्ता वाहीदुल्लाह जुमाजादाले बताएअनुसार मोटररिक्सा चलाइरहेका एक व्यक्ति गाउँमा प्रवेश गरेसँगै उनको वरपर बच्चाहरु झुम्मिएका थिए, त्यही समयमा विस्फोट भएको थियो।

अन्य सम्बन्धित समाचार:  रूसी विपक्षी नेता नाभाल्नी विमानस्थलबाट पक्राउ

जुमाजादाका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ।