एजेन्सी। कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गर्ने आदेश इटाली सरकारले दिएको छ। क्रिसमस र नयाँ वर्षमा सार्वजनिक बिदा हुने भए पनि अत्यावश्यक कामबाहेक यात्रा गर्न पाइनेछैन। त्यस्तै, रेस्टुरेन्ट र बारहरु बन्द हुनेछन्।
इटालीका प्रधानमन्त्री गुजेप्पे कोन्टेले यसलाई ‘कठिन निर्णय’ भनेका छन्। “हाम्रा विज्ञहरू क्रिसमसमा संक्रमण वृद्धि हुनेछ भन्ने चिन्तामा थिए। त्यसैले हामीले यस्तो निर्णय लिनुुपर्यो,’ कोन्टेले भने। इटलीमा ६८ हजारभन्दा धेरैको कोरोनाकै कारण ज्यान गइसकेको छ, यो यूरोपकै सर्वाधिक हो। कोन्टेले यसै महिनाको अन्त्यमा खोप लगाउने कार्यक्रम सुरु हुने र महामारीको काल रात अन्त्यको सुरुवात हुने बताए।
‘रेड जोन’ नाम दिइएको यस कडा प्रतिबन्ध इटलीभर तीन चरणमा लागुु हुनेछ। पहिलो चरणमा २४ देखि २७ डिसेम्बर, दोस्रो चरणमा ३१ डिसेम्बरदेखि ३ जनवरी र त्यसपछि ५ देखि ६ जनवरीमा प्रतिबन्ध हुनेछ। यस अवधिमा मानिसहरूले अत्यावश्यक काम र स्वास्थ सम्बन्धी गतिविधिका लागि मात्रै घर छाड्न पाउने कोन्टेले बताए।
यद्यपि, यस अवधिमा मानिसहरुले १४ वर्षभन्दा कम उमेरकाबाहेक अधिकतम दुई पाहुनालाई घर बोलाउन पाउनेछन्। राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु हुनेछ।
नेदरल्यान्ड्स, जर्मनी, अस्ट्रिया, स्विडेन, स्लोभाकिया, बेल्जियम, स्पेन, पोर्चुुगल, लक्जम्बर्गलगायत यूरोपेली देशहरुले पनि क्रिसमस र नयाँ वर्षमा सर्वसाधारणको सम्भावित भ्रमणलाई रोक्न नियममा कडाइ गरेका छन्।