काठमाडौं। मुलुकभरको तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भएको छ। आइतबार बिहान काठमाडौँ उपत्यकाका तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ।
शनिबारको तुलनामा २ डिग्री बढी हो। यसअघि शुक्रबार काठमाडौँ उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो।
मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले मुलुकभर उत्तरपश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ।
तराईका जिल्लाहरूमा सबैभन्दा कम बाराको सिमराको तापक्रम ४.५ डिग्रीमा झरेको छ। केही दिनयता तराईका जिल्लाहरुमा अधिकांश समय हुस्सु लागे पनि शितलहर भने भइनसकेको महाशाखाले जनाएको छ। ४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लागेमा शीतलहर भएको ठानिने मौसमविद मिनकुमार अर्याल बताए।
आइतबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू(भागहरुमा आंशिक बदली रहे पनि अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ।