नेकपा स्थायी कमिटी बैठक बस्दै, पाउला त समस्याले निकास?

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीमा देखिएको विवादबारे छलफल हुने छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने नहुने यकिन भएको छैन। बैठकअघि अल्पमतमा परेका ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उनले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन्।

शनिबार नेकपाका नेताहरुको दिनभरीको दौडधुपपछि पनि विवाद समाधान उन्मुख देखिएको छैन। शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई कार्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रस्ताव फिर्ता नलिने अडान दोहोराएपछि ओलीले प्रस्ताव फिर्ता नभएसम्म आफु बैठकमा आउन नसक्ने बताएका थिए । प्रचण्डले अब स्थायी कमिटीमै छलफल गरेर अगाडी बढ्नुपर्ने जवाफ दिएको बताइएको छ ।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा प्रमले पूजा गर्दा विरोध गर्नेहरु नै भैँसीपुजाका समर्थक -गोकुल बाँस्कोटा

यस अघि पुष १ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गरेपनि अहिलेसम्म अध्यादेश फिर्ता भएको छैन । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई एक पटक भेट गरेपछि मात्र अध्यादेश फिर्ता हुने बताए पनि अहिले सम्म अध्यादेश फिर्ता गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छैन ।