अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस

काठमाडौं।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरेको छ। राईलाई अख्तियार प्रमुख आयुक्तमा सिफारिस गरिएको पत्र संघीय संसद्को सचिवालयमा पेस भएको हो।

संसद् सचिवालयका अनुसार यसअघि बसेको संवैधानिक परिषदको बैठकले पूर्व गृहसचिवलाई रिक्त प्रमुख आयुक्तमा सिफारिस गरेको हो। अध्यादेशमार्फत् तत्काल कायम भएका बहुमत संवैधानिक परिषद्का सदस्यले नियुक्तिका लागि सिफारिस गर्न सक्ने व्यवस्था गरेको थियो।

सोही अध्यादेश जारी भएपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले राईलगायत रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बैठक बसेको थियो।

उक्त बैठकमा विभिन्न रिक्त आयोगका पदाधिकारीहरुको नामबारे मात्र छलफल भएको बताइएको थियो।

अन्य सम्बन्धित समाचार:  ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ: झलनाथ खनाल