संसद विघटन प्रति असन्तुष्टि: सात मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

काठमाडौं।

संसद विघटन प्रति असन्तुष्टि जनाउँदै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसाल, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले सामूहिक राजीनामा दिएका हुन्।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा आइतबार बिहानको मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा आफूहरूले असहमति जनाएको तथा त्यसलाई रोक्नका लागि पहल गरेको समेत उल्लेख गरिएको छ।

‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै राजीनामा गरेका छौं’, विज्ञप्तिमा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले अदालतमा पेस गरेका मुख्य पाँच बुँदा

पत्रकार सम्मेलनमा ऊर्जामन्त्री पुनले प्रधानमन्त्री ओलीलाई गलत कदम सच्याउन दबाब दिन राजीनामा दिएको बताए।

प्रचण्ड निकट मानिएका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् । पछिल्लो समय बादल र भट्ट प्रधानमन्त्री ओलीसँग निकट मानिँदै आएका छन् ।