५५ वर्ष पूरानो पाँचतारे अन्नपूर्ण होटल बन्द

काठमाडौं। पाँचतारे स्तरको ५५ वर्ष पूरानो होटल अन्नपूर्ण बन्द भएको छ।

कोरोना महामारीका कारण होटल क्षेत्रमा मन्दी आएपछि खर्च धान्न सक्ने अवस्था नभएपछि अन्नपूर्ण होटल बन्द गरिएको हो। होटलकी कार्यकारी अध्यक्ष सिर्जना राणाले सन् २०२१ भरका लागि होटल बन्द गर्ने निर्णय गरेको जानकारी दिइन्।

सन् २०२१ मा पनि बाह्य पर्यटक उल्लेख्य रुपमा आउने सम्भावना नदेखेपछि तत्कालका लागि होटल बन्द गर्नुपरेको बताइन्।

कोरोना महामारीको अवस्था हेरेर अर्को वर्षदेखि होटल खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय गरिने राणाले बताइन्।

दरबारमार्गमा होटल अन्नपूर्ण सन् १९६५ देखि सञ्चालनमा आएको हो।

हाल उक्त होटलमा ३५० भन्दा बढी कर्मचारी कार्यरत छन्। उनीहरु सबैलाई नियमानुसार पारिश्रमिक र सुविधा दिएर बिदाइ गरिने राणाले बताइन्।