नेपाल कम्युनिष्ट पार्टी विभाजनको मोडमा

काठमाडौँ। स्थायी कमिटीका बहुमत सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनतर्फ उन्मुख भएको छ।

नेकपा एमाले र नेकपा माओवादीबीच साढे दुई वर्षअघि एकता भएको थियो। संविधानमा नभएको अधिकार प्रयोग गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको सिफारिस गरेपछि दुवै पार्टीबीचको एकता भंग हुने स्थितिमा पुगेको छ।

मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकबाट ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने तयारी भइरहेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई कस्तो कारबाही गर्ने भन्नेमा टुंगो लागेन।

नेकपाको अन्तरिम विधानको धारा ५७ ‘क’मा पार्टी अनुशासन उल्लंघन गरे पार्टी सदस्यता तथा सांगठनिक सदस्यबाटै निष्कासन गर्न सकिने व्यवस्था छ । अब नेकपा जुट्न नसक्ने अवस्थामा पुगेको छ।

अन्य सम्बन्धित समाचार:  वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

प्रधानमन्त्री ओलीले गत वैशाख ८ गते पनि दल त्यागसम्बन्धी अध्यादेश ल्याएका थिए। ओलीले अध्यादेश फिर्ता तथा आत्माआलोचना गरेपछि विवाद सामसुम भएको थियो। भदौ २६ मा स्थायी कमिटीले गरेको निर्णय ओलीले उल्लंघन गर्दै गएपछि नेकपामा फेरि विवाद उत्पन्न भएको हो।

ओली पार्टीभित्र अल्पमतमा छन्। केन्द्रीय कमिटी वा संसदीय दलमा ३० प्रतिशत मात्रै भए पनि दल त्याग गर्न सक्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवासमा तयारी अवस्थामा छ। सो अध्यादेशबारे ओलीले के गर्छन त्यो भने हेर्न बाँकी नै छ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार राति नै परामर्श गरेर आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइ संसद् विघटनको सिफारिस गरेका थिए।