बालुवाटारमा ओली, संसद् भवनमा प्रचण्ड–नेपाल भेला

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज आ–आफ्नो पक्षका सांसदहरुको छुट्टाछुट्टै भेला राखेका छन्।

ओलीले आफ्नो पक्षका सांसदहरुलाई निवास बालुवाटारमा डाकेका छन् भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरुको भेला संसद् भवन नयाँ बानेश्वरमा हुँदैछ।

ओली पक्षीइ सांसदको भेला बिहान तथा प्रचण्ड–नेपाल पक्षीय भेला दिउँसो हुने बताइएको छ। दुवै पक्षको भेलाबाट नयाँ रणनीति तय गरिने छ। प्रधानमन्त्री ओलीको पछिल्लो कदमविरुद्ध प्रचण्ड–नेपाल पक्ष कडा रुपमा उत्रिने बताइएको छ।

भेला लगत्तै प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बस्ने छ। आइतबार साँझ बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय बैठक बोलाए

केन्द्रीय कमिटीको बैठक अब मंगलबार बस्नेछ। उक्त बैठकबाट ओलीलाई कारवाहीको निर्णय गरिनेछ।

ओलीले संसद् विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सो कदमको विरोध गर्दै सडकमा प्रदर्शन र नारावाजी समेत सुरु भएको छ।