संसद् विघटनपछि कुन कलाकारले के भने?

काठमाडौं। सरकारले संसद् विघटन गरेपछि देशभर चौतर्फी विरोध भएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरेपछि विभिन्न कलाकारहरूले सामाजिक सञ्जाल माफ्र्त आ आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्। 

संसद् विघटनको विषयलाई लिएर चर्चित हास्यकलाकार मनोज गजुरेलले व्यङ्ग्यात्मक रुपमा २० वर्षअघि चट्याङ मास्टरले लेखेको गीतको भिडियो फेरि सार्वजनिक गर्दै विकसित राजनीतिक घटनाक्रमको विरोध जनाएका छन्। उक्त भिडियो शेयर गर्दै उनले लेखेका छन्, ’कति हेर्नू नाटक देखाउने यिनै हुन्, कता के को व्याख्या गराउने यिनै हुन्। विषालु मिठा भ्रम अनि फेरि ल्याई, तपाईं हाम्रो टाउको चपाउने यिनै हुन्!’

त्यस्तै, अर्का हास्यकलाकार दिपकराज गिरीले पनि सरकारले गरेको संसद् विघटनको निर्णयलाई लिएर ’५ वर्षे सरकार न देखि मरिएला जस्तो छ दुई तिहाइ पनि दुई तुहाइ भो..’ भनेका छन्। उनले तत्कालीन एमाले र माओवादीबीचको गठबन्धन नै अप्राकृतिक भएकाले अहिलेको परिस्थिति आउनु स्वाभाविक भएको बताए उनले लेखेका छन्, ‘माओवादी र एमाले को अप्राकृतिक गर्भाधान बाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौँ किनकि अप्राकृतिक कुरा स्थायी हुदैन।’ 

यसैगरी अर्का हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ले सामाजिक सञ्जालमा लेखेका छन् ’मन थिएन यस्तो लेख्नलाई, भोट माग्दा जनतालाई, बहुमतको स्थाई सरकार….भन्थे भन्नलाई।’

यस्तै, कुमार कटेल ‘जिग्री’ले अब नेपाली जनताहरूको लागी अन्तिम एउटा मौका हुने बताएका छन्। उनले अब हुने चुनावमा भिजन, इमान्दारिता, पारदर्शिता र दृढ इच्छाशक्ति भएका तीन करोड नेपालीको मन मुटुमा बस्न सफल व्यक्तिहरू लाई उठ्न दबाब मूलक अभियानहरू शुरु गर्न समेत आग्रह गरेका छन्। 

उनले लेखेका छन्,  ओली ज्यू पदच्युत हुनु भएको भए आउने अनुहार हरु सम्झनुस् त, यो त्यो जो भए पनि पालै पालो देश लाई बर्बाद बनाएर २० ३० वर्ष अझै देश लुट्नेहरू नै आउथेँ, अब हामी जनताहरू को लागी अन्तिम एउटा मौका र अवसर हुन सक्छ। अब हुने चुनावमा भिजन, इमान्दारिता, पारदर्शिता र दृढ इच्छाशक्ति भएका तीन करोड नेपालीको मन मुटु मा बस्न सफल व्यक्तीहरू लाई चुनावमा उठ्न दबाब मूलक अभियानहरू शुरु गरौँ!
अब त अत्ति भयो, विकल्प खोजौँ!! 
अब पनि पुगेन, अझै मासु चिउरा मा बिक्ने, देश बर्बाद बनाउने
अब हामी जनताको एउटै माग प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख !!
अब पार्टी का एजेण्डा हैन हाम्रा एजेण्डा लाई पुरा गर्छु भनेर लिखित रुप मा प्रतिबद्दता जनाउने भिजन भएका नया युवा पुस्ता तयार गर्न तर्फ लागौ
जय देश, जय नेपाली