नयाँ एमालेको अध्यक्ष बन्दै ओली, रामबहादुर थापा सहअध्यक्ष

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि अब नयाँ पार्टीका रुपमा नेकपा एमालेलाई ब्युँताउने भएका छन्।

पार्टी ब्युँताएपछि ओली पार्टी अध्यक्ष तथा वर्तमान गृहमन्त्री रामबहादुर थापा सह–अध्यक्ष बन्ने भएका छन्। पछिल्लो समय नेकपाभित्रको विवादमा थापाले ओलीलाई साथ दिँदै आएका छन्।

ओलीले संसद विघटनपछि पनि थापालाई गृहमन्त्री कायमै राखेका छन्। ओलीले नेकपा विभाजन भएपछि बन्ने नयाँ पार्टीमा थापालाई सह–अध्यक्ष बनाउने आश्वासन दिएको श्रोतले बतायो।

नयाँ बन्ने पार्टीमा थापा ओलीपछि दोस्रो नम्बरमा रहने छन्। थापा ओलीलाई साथ दिने पूर्वमाओवादी पक्षका सबैभन्दा वरिष्ठ नेता हुन्। उनी हाल नेकपाको सचिवालय सदस्य हुन्।

स्थायी कमिटीका बहुमत सदस्यले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनतर्फ उन्मुख भएको छ। प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको सिफारिस गरेपछि दुवै पार्टीबीचको एकता भंग हुने स्थितिमा पुगेको छ।

अन्य सम्बन्धित समाचार:  विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकबाट ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने तयारी गरेको छ। नेकपाको अन्तरिम विधानको धारा ५७ ‘क’मा पार्टी अनुशासन उल्लंघन गरे पार्टी सदस्यता तथा सांगठनिक सदस्यबाटै निष्कासन गर्न सकिने व्यवस्था छ ।

ओलीले दल त्यागसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन्। ओली पार्टीभित्र अल्पमतमा छन्। केन्द्रीय कमिटी वा संसदीय दलमा ३० प्रतिशत मात्रै भए पनि दल त्याग गर्न सक्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवासमा तयारी अवस्थामा छ।