भ्रममा नपर्नुस्, ओलीको कदमले पार्टी एकता भत्काउँदैनः प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले एकतालाई कुनै असर नपर्ने बताएका छन्। सोमबार बिहान एक विज्ञप्ति जारी गरेर उनले कुनै एक व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी कदमले पार्टी एकतालाई कुनै तात्विक असर नपर्ने भन्दै भ्रमात्मक प्रचारमा नपर्न अपील गरेका छन्।

प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो। राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य

ओलीले संसद् विघटन गरेपछि पहिलो पटक प्रचण्डले पार्टी अध्यक्षको हैसियतले प्रेस विज्ञप्ति जारी गर्दै सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर उभिन आह्वान समेत गरेका छन्।

ओलीले चालेको संसद् विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई आइतबार बसेको स्थायी कमिटीको बैठकले विरोध गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र ओलीलाई अनुशासनको कारबाही गर्ने प्रक्रिया अगाडि बढाइएको प्रचण्डले बताए।

सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन्। यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै सर्वत्र विरोध भइरहेको छ।