केपी ओली र प्रचण्डले नक्कली अंकमाल गरेको त्यो दिन- रमेश प्रसाईं

रमेश प्रसाईं, धरान। देशको दुर्भाग्य देखेर तपाईँ समक्ष पोख्न आएको छु। सेयर गर्नु नगर्नु तपाईँको इच्छा। गणतन्त्र नेपालको पहिलो निर्वाचीत संसद विभत्स पूर्वक आर्यघाटमा पुग्ने अवस्था सिर्जना भयो। दुई कामरेडहरूको अहंकार जुधाईको कारणले। त्यसको मूल्य सारा देशले चुकाउनु पर्ने अवस्था आएको छ। आज लोक सेवालाई सामान्य ज्ञानका लागि एउटा प्रश्न उपलब्ध गराउन चाहन्छु। जी‍.केमा राख्न काम लाग्छ लोकसेवामा। नेपालको इतिहासमा नाट्यसम्राट बालकृष्ण समका पालादेखि आजसम्म रचिएको सबभन्दा निकृष्ट, सबभन्दा भद्दा, सबभन्दा खल्लो र घिनलाग्दो नाटक कुन हो? त्यो नाटकको शीर्षक हो बाम एकता।

एक अर्काका चीर शत्रु केपी ओली र प्रचण्डले नक्कली अंकमाल गरेको त्यो दिन नेपालको राजनीतिक इतिहासमा काला अक्षरले लेखिनुपर्छ। त्यो एकता थिएन केवल नौटङ्की रहेछ। सोझा साझा निमुखा जनतालाई, सर्वहाराहरूलाई स्थिर सरकार र विकासको सपना देखाएर लाटालाई पापा देखाए जसरी आश्वासन देखाएर झुलाउन भुलाउन षड्यन्त्रकारीहरूले रचेको नौटङ्की थियो त्यो, एउटा स्वार्थ कुञ्ज थियो।

माधव कुमार नेपालको पार्टीको वरिष्ठ भईकन पनि आफ्नो नेतृत्व खोसिएको कुण्ठा, वामदेव गौतमको पार्टीबाट एक्लिएको हीनताबोध, झलनाथ खनालको पार्टी कब्जा गर्न नपाएको प्रतिशोध, अनि यी सबैका अस्त्र बने पुष्पकमल दाहाल प्रचण्ड त्यसमाथि केपी ओलीको कसैलाई पनि पाषण जति पनि नगन्ने मुडे अहंकारी बुद्धि यी सम्पूर्ण स्वार्थी वर्ग घातीहरुको दुर्मतिले गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रतिनिधि सभालाई सती पठाइदियो।

अनि आज रमिता हेरिरहेको छ सारा संसारले रमिता। नेपाली कार्लमार्क्स मदन भण्डारीका सहयात्रीहरूले गरेको राष्ट्रघातको रमिता, माओत्सेतुङका चेलाहरूले राजनीतिमा देखाएको नाङ्गो नाचको रमिता। आज सामाजिक सञ्जाल हेरे एकथरी मान्छेहरू भन्छन्, ओलीले ठीक गरे, जे गरे ठीक गरे यो संसद भंग हुनै पर्थ्यो, विकास माइतीघर मण्डलाबाट देखिदैन, ओली सरकारले काम गरिरहेको त थियो नि प्रचण्ड लगायतका नेताहरुले कामै गर्न दिएनन्, अझ ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्दै थिए, राष्टपती विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने तयारी गर्दै थिए संसदमा अनि संसद विघटन नगरेर के गरुन? ४५ वटा पदहरु त रिक्त राखिएको छ।

मूख्य संवैधानिक अंगहरुमा र प्रशासनिक अंगहरुमा अनि यस्तो गुटबन्दी र घेराबन्दीमा परेर आफ्नै पार्टीको घेराबन्दीको कारणले काम गर्न नपाएपछि केपी ओलीले गरेको यो संसद विघटन सही हो। तर अर्का थरि मान्छेहरू भनिरहेका छन्, कि केपी ओली स्वईच्छाचारी, अहंकारी छन्, दुर्वुद्धी घन्, कसैलाई समेट्न चाहदैनन् उनको यही मुडे अहंकारको परिणम स्वरुप आजको यो संसद विघटन भएको हो। जुन पक्षको राय सहि भएपनि, यो रमिताको नायक र खलनायक जो जो भएपनि यो लोकतन्त्रमाथि भएको प्रहार हो। यो लाजलाई पनि लाज लाग्नुपर्ने विषय हो।

नेपालको बामपन्थी आन्दोलनको लगभग चोला उठ्यो अब। अर्धमृत अवस्थामा पुग्यो नेपाली बामपन्थी आन्दोलन। जनयुद्ध देखि झापा विद्रोह सम्मका शहिदहरुका सपना तुहाए, काट्टो खाए वर्गघातीहरुले केवल आफ्नो मुडे अहंकारको स्वार्थपूर्तिका लागि। सर्वोच्च अदालत एउटा अन्तिम विकल्प हुन सक्थ्यो यो निर्णय रोक्ने, यो लोकतन्त्रविरोधि निर्णयलाई उल्ट्याउने तर सर्वोच्च अदालतका प्रधान न्यायाधिस श्रीमान् चोलेन्द्र शमशेर राणाको चरित्र र पछिल्लो रेकर्ड हेर्दा यो निर्णय उल्टिने कुनै सम्भावना देखिदैन्।

आज मलाई मदन भण्डारी कमरेडको एउटा आदर्श वाक्य याद आइरहेको छ। कमरेड मदन भण्डारीले भन्नुभएको थियो, यदि हामीले राजतन्त्र फाल्यौँ तर राजतन्त्रको उन्मुलन भयो तर राजतन्त्रको उन्मुलन भएर पनि जनताको जीवनस्तर माथि कुनै परिवर्तन आएन भने व्यवस्था, अवस्था र प्रणालीमा कुनै परिवर्तन आएन भने हामीले गणतन्त्र प्राप्ति गरेपनि त्यो उपलब्धी निरर्थक हुन्छ।

आज मदन भण्डारीको त्यही वाक्य ढुंगाको अक्षर साबित भएको छ वर्गघाती स्वार्थीहरुको चरित्रको कारणले गर्दा। यसो भनेर म राजतन्त्रको समर्थन गरिरहेको छैन्, गणतन्त्रको विरोध गरिरहेको छैन्, किनकि लोकतन्त्रको विकल्प सुधारिएको लोकतन्त्र मात्रै हो। दुईचार ओटा बाँदरले खेत मासे भन्दैमा जंगलमा आगो लगाउन मिल्दैन। यसकारण लोकतन्त्रमा केही खराब अवसरवादी तत्वहरु देखिए भन्दैमा लोकतन्त्रको विरोध गर्नु अनुचित हो, मूर्खता हो।

आदरणीय बामपन्थी बुद्धिजीवी कमरेडहरु, आजको नेकपामा जतिपनि शीर्ष नेताहरु छन् नि यिनका बलिदानका बखानहरु रक्षान तिर मिल्काइदिए हुन्छ अब। यिनीहरुले भोगेको जेल, नेल र वनबास सारा राष्टसेवाका निम्ती होइन, राष्ट चुस्नका निम्ती, रजाइँका निम्ती, सत्ताभोग गर्ने लक्ष्यले मात्रै यिनीहरुले जेल, नेल र वनबास भोगेका रहेछन् भन्ने कुरा यिनीहरुको चरित्रबाट प्रमाणित भइसकेको छ।

बामपन्थी कार्यकर्ता कमरेडहरु अझैपनि यदि तपाईँको हृदय यिनै नेताहरुको जयगान गर्न मन लाग्छ भने, यिनै नेताहरुलाई जिन्दावाद भन्दै प्रचार गर्न मन लाग्छ भने, तपाईँले आफ्नी आमाको दुधमाथि शंका गर्नुहोला, तपाईँलाई पिलाउने तपाईकी आमाको दुधमा कतै तपाईँलाई रोवर्ट बनाउने रसायन त मिसिएको थिएन? सारा देशमाथि विभत्स प्रहार भएको छ, शहिदको रगतले आर्जेको लोकतन्त्रमाथि विभत्स प्रहार भएको छ र मदन भण्डारीले बोलेको त्यो वाक्य आज ढुंगाको अक्षर सिद्ध भएको छ।

मेरो महामहिम प्रधानमन्त्री कमरेड तपाईँको एउटा चप्परे झापाले झोकमा गरेको निर्णयको कारणले, एउटा यो कुकृत्यको कारणले अब पूर्व दरवारियाहरु, दरवारको रासोबासोमा हुर्किएका लोकतन्त्र विरोधिहरुले फेरि लोकतन्त्रमाथि प्रश्न उठाउने अवसर पाउने भए, सिंगो ब्यवस्थामाथि प्रश्न उठ्ने भयो, केन्द्रदेखि प्रदेशसम्म, प्रदेशदेखि स्थानियतह गाउँ टोलसम्म, तपाईँहरुले सबै ६०/४० मा विभाजन गर्नुभएको छ।

अब सारा शासनव्यवस्थामाथि छिद्र छिद्र पर्ने भए। चुनावको दशौँ अर्वको झमेला तपाईँहरुको मुडे अहंकार जुधाइको यो मूल्य साधारण सर्वहारा जनताले किन चुकाउने? महामहिम प्रधानमन्त्री कमरेड तपाईँलाई कसमसुखानीका शहिदहरुको कसम भोली आफूलाई ईलाम लगेर मारिदैछ भन्ने थाहा पाउँदा पाउँदै पनि आज कारागारमा साथीहरुलाई राखेर पार्टी संगठनको बारेमा ब्रिफिङ गर्ने कमरेड नेत्र घिमिरेको कसम, तपाईँलाई कसम रामनाथ दाहाल, विरेन्द्र राजवंशी, कृष्ण कुँइकेल र नारायन श्रेष्ठ जस्ता योद्धाहरुको।

तपाईँको प्रचुर राष्ट्रभक्तिलाई प्रमाणित गर्नुहोस यतिबेला। प्रचण्डसँगको शत्रुताभन्दा देश र लोकतन्त्रको हित ठूलो हो, यसकारण महामहिम कमरेड फिर्ता लिनुस् यो संसद विघटन। यो संसद विघटनले राष्ट्रको अहित गर्छ, लोकतन्त्रको विरुद्ध छ यो कदम।

जनयुद्धका पूर्व सुप्रिम कमाण्डर कमरेड तपाईँपनि यतिबेला आत्म केन्द्रित, स्वार्थी, सामान्य छविलाल मास्टर नभैदिनुस्, प्रचण्ड हुनुस् कमरेड प्रचण्ड। तपाईँको निम्ती तपाईँको एक आदेशमा, एक इसारामा आमाको काखबाट उछिट्टिएर छातीमा गाली थापेर यमराजको हातमा पुगेका ती आत्माहरुको अलिकती त इज्जत गर्नुस्, मदन भण्डारी र पुष्पलाल जस्ता नेताहरुको अलिकति त स्मरण गर्नुस्, यतिबेला केपी ओलीलाई ढाल्नुभन्दा लोकतन्त्रलाई, गणतन्त्रलाई सम्हाल्नु ठूलो हो, राष्ट्र र गणतन्त्रको हित ठुलो हो।

यदि यति जनताले विरोध गरिरहँदा, यति बिघ्न प्रश्न जनताले उठाइरहँदा, यति बिघ्न सुवेच्छा राखि रहँदापनि मैमत्ता भएर यी नेताहरु मध्यावधीमा गए भने, संसद विघटनको यो लोकतन्त्र विरोधी निर्णय सच्चिएन भने, नेपालको इतिहासले केपी ओली, प्रचण्ड, वामदेव गौतम झलनाथ खनाल र माधव नेपाललाई नेपालको राजनैतिक इतिहासले कहिल्यै क्षमा गर्नु हुँदैन। धिक्कर्नुपर्छ यिनीहरुलाई त्यसरी नै जसरी कम्बोडियाको इतिहासले खमेरुजलाई धिक्कार्छ र नेपाली जनतासँग एउटा अवसर छ।

उहिल्यै उहिल्यै राजतन्त्रको प्राचिन कालमा राजाले एउटा सपथ लिनु पर्थ्याे रे, यदि तपाईँहरुमाथि, जनताहरुमाथि मैले ज्यादती गरे भने मलाई ईश्वरले मृत्युदण्ड प्रदान गरोस, आज त लोकतन्त्रमा ईश्वर भनेकै जनता हो, जनता जनार्जन हो, त्यसकारण हामीसँग अवसर छ, कि यी मैमत्ता भएर यदि मध्यावधी चुनावमा गए भने त्यो मध्यावधी चुनावमा हामीले यी शीर्षस्त नेताहरुलाई दण्ड दिनुपर्छ।

चुनावको माध्यमबाट, भोटको माध्यमबाट, ब्यालेटको माध्यमबाट, यिनीहरुलाई, यिनको राजनीतिक भविष्यलाई अन्तिम श्रद्धाञ्जली दिनुपर्छ ता कि एउटा नजिर बस्न सकोस् र यदि त्यसो भएन भने यदि त्यो मध्यावधिक चुनावमा पनि यिनलाई दण्डित गरेनौँ भने, तपाईँहामीले यिनको राजनीतिक भविष्यलाई श्रद्धाञ्जली सम्म पुर्याएनौँ भने एउटै कुरा प्रमाणित हुनेछ कि नेपाल भन्ने देशको भाग्यमा परिवर्तन भन्ने लेखिएको रहेनछ र तपाईँ र मजस्ता जनताको चेतना वन्यजन्तु जति पनि रहेनछ। किनकि वन्यजन्तुपनि एक स्थान अथवा एक जीवबाट खतरा देखेपछि त्यसको वरिपरी फेरी फर्केर जाँदैनन्। इतिश्री