प्रधानमन्त्रीले चालेको कदम अलोकतान्त्रिक छ: योगेश भट्टराई

काठमाडौं। निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमले देशलाई नै आघात परेको बताएका छन्। प्रधानमन्त्री ओलीले चालेको कदमप्रति असन्तुष्टि जनाउँदै आइतबार मात्रै पदबाट राजीनामा दिएका उनले प्रधानमन्त्रीले चालेका कदम राजनीतिक र संवैधानिक दुवै हिसाबले गलत भएको बताए।

सोमबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रम बोल्दै भट्टराईले देश, जनता र लोकतन्त्रको रक्षा सर्वाेच्च अदालतले गर्नेमा विश्वास राख्दै संसद् पुनर्स्थापन हुने दाबीसमेत गरे। उनले एउटा पार्टीलाई मात्रै नभएर समग्र लोकतन्त्रलाई नै संकट परेकाले सबै एक ठाउँमा उभिनेसमेत आग्रह गरे।

संसद् विघटन रोक्न हदैसम्मको पहल गरेरपनि नसकेको भन्दै उनले यो सबै सम्मालिने र देश अगाडि बढ्ने दाबी गरे। पर्यटन क्षेत्रको सुधारमा आफुले राखेको र लिएको लक्ष्य राजनीतिक व्यवधान र परिस्थितिका कारण पूर्णरुपमा कार्यन्वयनमा ल्याउन नसकिएको मन्त्री भट्टराईले बताए।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो

उनलाई मन्त्रालयले औपचारिक रुपमा विदाइ गरेको छ। २०७७ साउन १५ गते मन्त्री भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हालेका थिए।