असहयोग र घेराबन्दीका कारण नयाँ जनादेशमा जान बाध्य भएँ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन्। प्रतिनिधिसभाको विघटनको भोलिपल्ट सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर बनाउने काम भएको र जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि केही नेताहरुले निरन्तर अस्थिरताका लागि प्रयास गरेको आरोप लगाए।

जनादेश राजनीतिक स्थायित्वका लागि भएपनि तर्कहीन विवाद र गतिरोध सिर्जना आजको अवस्था सिर्जना गरिएको प्रधानमन्त्री ओलीको जिकिर छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष नपुग्दै मुलुक बाहिर गएर अस्थिरताको सन्देश दिएको आरोप लगाए। सरकारलाई असफल बनाउन विभिन्न बार्गेनिङ गरेर सरकारलाई जनअपेक्षा अनुरुप अघि बढ्न नदिइएको प्रधानमन्त्री ओलीको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय बैठक बोलाए

नेकपाका अध्यक्ष ओलीले विपक्षी नेतालाई पनि उछिनेर आफ्नो पार्टीभित्रका केही नेताहरु पद र प्रतिष्ठामा मात्र केन्द्रित रहेको पनि जिकिर गरे।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसको चौतर्फ आलोचना भइरहेको छ।