काठमाडाै।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्छ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्छ भने।
प्रधानमन्त्रीले भने, ‘‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ। यसका लागि उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै जानुपर्छ ।” उनले कतिपय विकसित मुलुकमा आधारभूत शिक्षा मात्र नभई, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको उल्लेख गरे।
“विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई आवश्यक वातावरण सिर्जना गरिदिन्छ” उनले भने, “आर्थिक हैसियत भएकाको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने म ठान्दछु।”