‘संसद विघटन भएको छैन, यो संविधानको विरुद्ध ‘कु’ हो’

काठमाण्डाै।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन्। आज संसद् भवन नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरूले संसद् विघटन नै नभएको प्रतिक्रिया दिएका हुन्।

नेकपाका वरिष्ठ नेता तथा सांसद झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नै नदिएको अधिकार दुरुपयोग गरेको भन्दै संसद् बैठकका लागि संवैधानिक अभियान चलाउने बताए। उनले भने, ‘वर्तमान संविधानबमोजिम प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन। यो संविधान विरोधी कुरा हो। संविधानको विरुद्ध ‘कु’ गरिएको छ। हामी सर्वोच्च नि जान्छौँ। संसद्को बैठक आयोजना गर्ने हाम्रो ध्येय छ।’

यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंंवैधानिक हो। संविधानमा कुनै प्रावधान छैन। त्यो अधिकार प्रधानमन्त्रीको हातमा छैन। उहाँ अल्पमतमा परेको अवस्थामा यो निर्णय अलोकतान्त्रिक, निरङ्कुश तरिका अवलम्बन गरिएकोले घोर विरोध एवं भर्त्सना गर्दछौँ। संसद विघटित भएको ठान्दैनौँ।’

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली

सांसद पम्फा भुसालले ‘संविधानको व्याख्याता सर्वोच्च अदालत हो। संविधानको कुनै पनि धारामा विघटनबारे छैन। सर्वोच्च अदालतमार्फत न्यायिक बाटो अवलम्बन गर्छौ। न्यायपालिकातर्फ हामीलाई विश्वास छ’, भनिन्।

सांसद शशी श्रेष्ठले प्रतिनिधि सभा विघटन नभएको भन्दै, ‘संविधानमाथिको ‘कु’ हो यो। प्रतिनिधि सभा विघटन भएको छैन’, भनिन्।

नेकपाका प्रचण्ड–माधव नेपाल समूहका सांसदहरूको सोमबार भएको भेलाले प्रतिनिधि सभा बैठक बोलाउन मागसमेत गरेको छ। बैठक नबोलाइए कानुनी प्रक्रिया अघि बढाइने पनि आज उपस्थित सांसदहरूले चेतावनी दिएका छन्।