अमेरिकामा जो बाइडेनले लगाए कोरोना विरुद्धको खोप

एजेन्सी। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन्। खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन्।

यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए। खोपको विषयमा सर्वसाधारणमा रहेको शंका हटाउनका लागि सार्वजनिक रुपमा खोप लगाएको उनीहरुले बताएका छन्।

अमेरिकामा अहिलेसम्म दुई खोपले स्वीकृति पाएको छ। आइतबारदेखि मोदेर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ। एक साता पहिला फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो।

अहिलेसम्म पाँच लाखभन्दा बढी अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठ जनाको हत्या

बाइडेनले सत्ता सम्हालेको १०० दिन भित्र १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ।

कोरोनाबाट अमेरिकामा हालसम्म संक्रमितको संख्या एक करोड ८० लाख नाघेको छ। अहिलेसम्म तीन लाख १९ हजार जनाले ज्यान गुमाएका छन्।