देशका धेरै ठाउँको न्यूनतम तापक्रम वृद्धि

काठमाडौं। देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातको समयमा बादल लागेकाले देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको मौसमविद् मन्जु बासीले बताइन्।

उनकाअनुसार देशका धेरै ठाउँको न्यूनतम तापक्रम औसतमा १ डिग्री सेल्सियसले बढेको छ। काठमाडौंको न्यूनतम तापक्रम मंगलबार ४ डिग्री सेल्सियस पुगेको छ। सोमबार ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो। यस्तै, मंगलबार काठमाडांैको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

रातको समयमा बादल लाग्दा पृथ्वीको ‘रेडियसन’लाई बादलले छेकिदिने हुँदा न्यूनतम तापक्रम बढ्ने मौसमविद् मञ्जु बासीले बताइन्। मौसमविद्ले न्यूनतम तापक्रम सूर्योदय हुनुपूर्व मापन गर्ने गरेका छन्। यसैबीच, पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्को अनुमान छ।

अन्य सम्बन्धित समाचार:  सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी

आज काठमाण्डौ उपत्यकामा हिजोको जस्तो घाम नलाग्ने मौसमविद् बासीले बताइन्। पश्चिमी वायुको प्रभावका कारण मंगलबार मधुरो घाम लाग्ने पनि मौसमविद्ले बताएका छन्।