उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी सुरु

डोल्पा। उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी सुरु भएको छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि सुर्खेतबाट तीन हजार ७४ क्वीन्टल चामल ढुवानी थालिएको छ। त्यसमध्ये ४ सय ४० क्वीन्टल चामल दुनै पुगेको र छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १ सय क्वीन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए।

सदरमुकाम दुनैसम्म गाडीमार्फत र त्योभन्दामाथि खच्चडमा ढुवानी गरिएको उनको भनाइ छ। उनका अनुसार झण्डै एक हजार क्वीन्टल चामल बाटोमा जाँदैछ। चीनको बाटो हुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा यो वर्ष नेपाली भूमिबाट नै खाद्यान्न ढुवानी कार्य गरिएको हो। कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा हवाई उडान प्रभावित