ओलीका कारण मुलुक संकटग्रस्त अवस्थामा पुग्योः खनाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक संकटग्रस्त अवस्थामा पुगेको आरोप लगाएका छन्। बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकमा नेता खनालले ओलीले गलत काम गरेको, संविधानको मर्म र भावनालाई कुल्चिएको, पार्टीभित्र गुटबन्दी गरेको कारण नै अहिलेको संकट निम्तिएको प्रस्ट पारेका हुन्।

नेता खनालले ओलीलाई पार्टी फुटाउने आपराधिक र गलत काम छाडेर पार्टीमा आउन आग्रह गरे। अन्यता भिरबाट लड्ने गाईलाई काँध थाप्न नसकिने उनको भनाइ छ।

उनले आफ्नै पार्टीका कार्यकर्ताको हत्या हुँदा प्रहरीलाई उजुरी दर्ता नगर्न दबाब दिने, सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीलाई जानकारी नदिने, कुनै प्रकारको छलफल नगर्ने जस्ता गतिविधिमा प्रधानमन्त्री ओली निरन्तर अघि बढेको चर्चासमेत गरे।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली सर्वदलीय बैठकमा सभामुखमाथि खनिए, संसदलाई बन्धक बनाएको आरोप

भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखसँग राति तीन घण्टासम्म छलफल गरेको बारेमा पार्टीलाई जानकारी नदिएको उल्लेख गर्दै खनालले उनीहरु बीच के कुराकानी भयो भन्नेबारे देशलाई, पार्टीलाई जानकारी हुनपर्ने बताए।