छोरी बलात्कार कसुरमा बाबुलाई जन्मकैदको फैसला

उदयपुर। जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैदको सजाय दिने फैसला गरेको छ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले मङ्गलबार छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बाबुलाई जन्मकैद सजायको फैसला गरेको हो।

उनलाई रु ५५ हजार जरिवाना पनि गर्ने फैसला भएको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताए।

पीडक बाबुले १९ माघ २०७६ राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र छोरीले २० माघमा कारबाहीका लागि प्रहरीमा निवेदन दिएका थिए।

प्रहरीले पक्राउ गरेर बाबुलाई जिल्ला अदालतमा मुद्दा चलाएको थियो। अदालतले गत वर्ष २२ फागुनमा पुर्पक्षका लागि थुनामा पठाएको थियो।